कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको आज आइतबार प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरे ।

त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुगेको साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले चालु आर्थिक वर्षमा योसहित पाँच वटा प्रयोगशाला स्थापना भएको जानकारी दिए । देशभर विषादी प्रयोगशालाको सङ्ख्या १२ पुगेको छ ।

यो प्रयोगशाला स्थापनासँगै कर्णालीका जनताले स्वास्थ्यमा असर पर्न सक्नेगरी विषादीयुक्त तरकारी फलफूल खानबाट जोगिन सघाउ पुग्ने अपेक्षा गरेको छ । वीरेन्द्रनगरको बुलबुले हाटबजारमा स्थापित प्रयोगशालाबाट गत साउनदेखि नै परीक्षण सुरु गरिए पनि औपचारिक उद्घाटन भने आज आइतबार गरिएको हो ।

प्रयोगशालामा हालसम्म विभिन्न फलफूल र तरकारीका ४९ वटा नमूनामा विषादीको मात्राको अवस्था परीक्षण गरेको थियो । जसमा भारतबाट आएका फलफूल र तरकारीमध्ये पाँच र चीनबाट आएका वस्तुको एउटा नमूना परीक्षण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख रोकायले जानकारी दिए । 

    

प्रतिक्रिया