रबि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछाने बिरुद्ध अनुसन्धान गर्न ६ दिनको म्याद थप गरेको छ । 

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गर्न म्याद थपका लागि आज आइतबार दिउँसो  अदालतमा पेश गरेको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा लामिछानेलाई आज अदालत समक्ष प्रस्तुत गरिएको हो । इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले बहस गरेकी थिइन् भने  सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा नारायण घिमिरे लगायतले बहस गरेका थिए ।

लामिछानेलाई संसदीय छानबिन विशेष समितिले पोखराको सुर्य दर्शन लगायतका सहकारीको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । समितिले उनलाई सहकारी बचत अपचलन गरेकोमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको हो । 

गत शुक्रबार सहकारीको बचत अपचलनमा लामिछाने सहित १४ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । लामिछानेको पक्राउ बिरुद्ध रा.स्व.पा.का कार्यकर्ताले पोखरामा आज प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया