कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’


गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उनी आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्छन् । शर्मा निष्फिक्री यात्रा गर्छन । तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उनी  घुमफिरमै व्यस्त छन् । 

यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा शुरु गरेका छन् । चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उनको योजना छ । पाँच हजार मिटर उचाइ माथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उनले सुनाए । 

पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरु बाटो लागेको शर्माले बताए । उनी बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडक मार्गबाट पुगेका थिए । बीचबाटोमा होटल÷चियापसल नभएका कारण बस्ने टेन्टसहित खानेकुराको बन्दोबस्त मिलाएर पदयात्रामा निस्केको शर्माले बताए । 

सोलुखुम्बुको आइल्याण्ड पिक चढीसकेका उनलाई धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ । तर बदलिरहने हिमालीमौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उनी सतर्क छन् । 

धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धन हेतु तस्बिर र भिडियो सामग्री सङ्कलनका लागि उनी त्यसतर्फ जान लागेका हुन् । शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ । पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उनी पुगेका छन् ।   

घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गरेका थिए । ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । उक्त समूहले उपाधिसँगै  पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो । जसको पुरस्कार राशि  एक लाख थियो । 

‘डुलुवा’ समूहले बनाएको ‘दि नर्देन वाल’ अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेको उत्तर आधार शिविर तर्फको प्रवद्र्धनात्मक भिडियो हो । ‘मेरो गाउँ तक्सेरा’ भने पूर्वी रुकुमको जनजाति बाहुल्य गाउँ हो । शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडियो सामग्री तयार पार्दै आएका छन् । 
‘डुलुवा’ समूहसँगको सहकार्यका क्रममा प्राप्त सिकाइ र सफलताले आफूलाई यस क्षेत्रमा थप सिर्जनशील बन्न प्रेरित गरेको शर्माको भनाई छ  । 
‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो । 

उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ । ‘डुलुवा’का संयोजक योगेश भट्टराईले गत महिना नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका १४ राज्यमा पुगेर फर्किएको बताए ।

उनले आफ्नो समूहले नेपालका ७० जिल्ला घुमिसकेको जानकारी दिए । डुलुवा समूहमा ११ जनाको कार्यसमिति र २७ जना सदस्य छन् । घुमफिरका लागि ‘पहिले देश अनि विदेश’ भन्ने आदर्श वाक्य बोकेको उक्त समूहले पर्यटन प्रवर्द्धनमा युवाहरुको सक्रियता र सिर्जनाशिलतालाई आत्मसाथ गर्दै आएको छ । 

‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ । पर्यटनप्रेमी कञ्चन राईको सोचबाट उब्जेको ‘घुमन्ते’ पर्यटकीयस्थलको खोजी, पहिचान र प्रसारमा सक्रिय छ । युट्युबमार्फत विभिन्न ठाउँका आकर्षक भिडियो पस्कँदै आएको ‘घुमन्ते’ आफैमा यात्रीहरुको सानो समूह भएपनि यसको डिजिटल फैलावट भने धेरै परसम्म पुगेको छ । 

उक्त समूहका व्यवस्थापक तथा जनसम्पर्क प्रमुख मनिष रुचालले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो ‘डिजिटल’ विषवस्तुमा काम गरिरहेको बताए । 

‘घुमन्ते’का निर्देशक र लेखक कञ्चन राई हुन् भने भने अन्य सदस्यहरु फोटोग्राफी, भिडियोग्राफी, सम्पादन आदिको जिम्मेवारीमा छन् । 
नेपालको पर्यटनलाई देशदेशमा  चिनाउनु नै ‘घुमन्ते’को मुख्य उद्देश्य रहेको उनको भनाई छ । अहिलेसम्म बढीमा ४५ दिनसम्मको यात्रा तय गरिएको व्यवस्थापक रुचालले बताए ।

“कुनैताका विदेशी पर्यटकले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियोले नेपालको पर्यटनबारे बाहिरी जगतले थाहा पाउने अवस्था थियो”, उनले भने, “तर अहिले पर्यटन प्रवर्द्धनका लागि अनेक माध्यम र तौरतरिका छन्, हामीले त्यसैलाई अपनाउँदै आएका छौँ ।”
 

रासस
 

प्रतिक्रिया