सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्।

आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको जानकारी गराइएको छ। 

मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ। 

 

मन्त्रालयले गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा परिसरमा निर्मित मुख्य संरचनामा पहुँच खुला गरेको विषयलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरिएको छ। 

मन्त्रालयका अनुसार यस अवधिमा सात वटा स्वास्थ्य भवन निर्माण भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, तेह्रथुम, मारेकहटहरे स्वास्थ्यचौकी र मूर्तिढुङ्गा स्वास्थ्यचौकी धनकुटा र थोक्लुङ स्वास्थ्यचौकी तेह्रथुमको निर्माण भइसकेको छ । जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। 

ललितपुरको भैँसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न भई १८ जना सङ्घीयमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष र जवान लाइनको तीनवटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको जनाइएको छ।

दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहल निर्माण, नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ। साथै पच्चिस वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण पनि पूरा भएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएकामा ४० वटा सम्पन्न भएको र १० वटा निर्माणाधिन अवस्थामा छन्। 

सचिव गेलालका अनुसार पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिएको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आइसकेको छ। काठमाडौँको गोकर्णदेखि गुह्येश्वरीसम्मको छ किमी क्षेत्रमा ढल व्यवस्थापनको काम पूरा भएको छ। साथै एक महिनाभित्र गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त बनाउने योजना रहेको जनाइएको छ।

 

 

प्रतिक्रिया