रा.स्व.पा. सभापति लामिछानेलाई कास्की जिल्ला अदालतमा पेश गरियो

काठमडौ । सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न लामिछानेलाई अदालत उपस्थित गराइएको हो । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा ल्याइएको थियो ।

यसैबीच, लामिछाने पक्राउको विरोध गर्दै रास्वपाका नेता कार्यकर्ताले पोखरामा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिद चोक आसपास क्षेत्रलाई आजै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

अन्तिम समयमा निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले प्रहरीसँग वादविवाद गर्दै निषेधित क्षेत्रमै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रहरीले निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच धकेलाधकेल समेत भएको छ । सभापति लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपछि रास्वपाले सरकारको विरोध गर्दै आएको छ । लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजेको रास्वपाको आरोप छ ।

प्रतिक्रिया