राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बाढी, पहिरो र डुबान पछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट पारेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषदका बैठक र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदका  बैठक बाट समय तालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए । 

उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कट ग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौँ सङ्ख्यामा पशु चौपायामा समेत क्षति भएकाले पुनःनिर्माण र पुनःस्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गरेका थिए । 

सो अवसरमा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, पूर्वसांसद गणेश पहाडी लगायत सहभागी थिए ।
रासस 

प्रतिक्रिया