दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश

एजेन्सी । इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाह सँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ ।

सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरू विरुद्ध ‘काम गर्ने’ भन्दै उक्त आदेश दिएको हो ।

उक्त ‘जरुरी चेतावनी’ सेनाका अरबी प्रवक्ता अभिचय अद्राई द्वारा जारी गरिएको थियो र यसले हारेत ह्रेइक र हदाथ छिमेकलाई सम्बोधन गरेको थियो ।

“तपाई हिजबुल्लाह सँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाह विरुद्ध आइडिएफले निकट भविष्यमा काम गर्नेछ”, अद्राईले टेलिग्राममा भने, “तपाई र तपाईका परिवारका सदस्यहरूको सुरक्षाका लागि तपाईले तुरुन्तै भवन र त्यस सँग जोडिएका भवनहरू खाली गर्नुपर्छ र त्यहाँ बाट कम्तीमा पाँच सय मिटर टाढा जानुपर्छ ।”

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा गढ रहेको इरान–समर्थित हिजबुल्लाह विरुद्ध इजरायलले आफ्नो अभियान तीव्र पारे पछि यस्तै, चेतावनीहरूले हालैका साताहरूमा इजरायली हवाई आक्रमणहरूको सङ्केत गरेका छन् ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासको सहयोगी हिजबुल्लाह बीच गत वर्ष गाजामा युद्ध सुरु भए पछि लेबनानी सीमापार लगभग दैनिक गोलाबारी आदानप्रदान भइरहेका थिए ।

यद्यपि इजरायलले विनाशकारी हवाई आक्रमणहरू शुरु गर्दै र स्थल सेनाहरू तैनाथ गर्दै गत महिनाको अन्त्य तिर आफ्नो अभियानलाई तीव्र रूपमा बढाएको थियो ।

लेबनानी स्वास्थ्य मन्त्रालयका आँकडा अनुसार सेप्टेम्बरको अन्त्य देखि युद्ध बाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको ज्यान गएको छ ।
रासस 

प्रतिक्रिया