गौशाला धर्मशालाका विषयमा छलफल गर्न पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै

काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवाद बारे छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आइतबार बस्दै छ । 

कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो । काठमाडौं जिल्ला अदालतले श्रीपशुपतिनाथ अमालकोट कचहरी अर्थात हाल पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति बीच विसं २०६० मा भएको धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता खारेजी सदर गरिदिए पछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा छ । 

यसैबीच कोषले काठमाडौं महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यस अनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ । यस विषयमा छलफलका लागि मन्त्रालयको निर्देशनमा बैठक बोलाइएको हो ।

कोष सञ्चालक परिषद्ले विसं २०८० साउन १७ गते मारवाडी सेवा समिति सँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकामा अदालतले दाबी नपुग्ने फैसला गरेको थियो । 

धर्मशाला हाललाई समितिले नै सञ्चालन गर्नेगरी अल्पकालीन आदेश जारी गरिएको छ । उच्च अदालतले यही कात्तिक ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया