माटोका भाँडा बनाउन भ्याइ नभ्याई

सुनसरी । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन् । तिहार र छठ पर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन् । 
 
पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशल गायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ । 

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडि देखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडि सम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिले देखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताए । 
 
“नजिक माटो पाइँदैन, टाढा बाट प्रति ट्रयाक्टर १० हजार देखि २० हजार सम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ”, उनले भने । तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलश लगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । 

चाडपर्वका बेलामा एउटा परिवारले एक लाख देखि पाँच लाख सम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडा बाट ५० हजार देखि  दुई लाख सम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताए । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवा सहित इटहरी, धरान, धनकुटा, झापा लगायत ठाउँ सम्म जाने गरेको बेचनीले बताए । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ । 
रासस 

प्रतिक्रिया