रवि लामिछानेलाई आज कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालत पेस गरिँदै छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्र अदालत पेस गरिने भएको हो । उनी विरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ । 

म्याद थप पछि प्रहरीले उनी विरुद्ध सहकारी रकम ठगी र संगठित अपराध बारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुुक्रबार लामिछाने सहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।  काठमाडौं बाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान करिब पौने तीन बजे पोखरा पुर्‍याइएको थियो । 

सूर्यदर्शन सहितका सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

प्रतिक्रिया