टी-२० सिरिजको दोस्रो खेल : अमेरिका विरुद्ध ब्याटिङ गर्दै नेपाल

काडमाडौं नेपालले अमेरिका विरुद्धको टी-२० आई सिरिज अन्तर्गत अहिले दोस्रो खेल खेल्दै छ। नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ।

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालस स्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल जारी छ ।  

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै, ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङ तर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई /दुई विकेट लिए । 

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । 

यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङ तर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक /एक विकेट लिए ।  

प्रतिक्रिया