गढीमाई मेलामा खानेपानी अभाव हुँदैनः मन्त्री यादव

बारा ।  खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन् । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए ।

मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  “कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ । पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं”, उनले भने ।

मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताए । उनले भने,“सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिए ।”मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गरे । कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गरे ।

उनले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानुनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए । मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादवलगायत उपस्थित रहेका थिए । 

    

प्रतिक्रिया