व्यक्तिगत प्रतिशोध साँधेर रबिलाई पक्राउ गरिएको वाग्लेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले व्यक्तिगत इगो साँधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएका छन् । शनिबार पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा भएको विरोध प्रदर्शनमा उनले एक दिन भए पनि जेल कोचेरै देखाउँछु भनेर व्यक्तिगत इगो साध्नका लागि रविलाई पक्राउ गरेको आरोप लगाए ।

कानुनी पक्रियाको सम्मान गर्ने भन्दै उपसभापति वाग्लेले कुनै व्यक्तिलाई र राजनीतिक अभियानलाई सकाउने दुष्प्रयास भए राजनीतिक प्रतिकार गर्ने चेतावनी समेत दिए । उपसभापति वाग्लेले मिनबहादुर गुरुङले नेकपा एमालेलाई एक अर्बको घुस दिएको काण्डलाई मोड्न लामिछानेलाई पक्राउ गरेको आरोप समेत लगाए ।

अब ओली सरकारले मिनबहादुरविरुद्धको मुद्दा अगाडि नबढाउने दाबी समेत उनले गरे । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले सभापति लामिछानेलाई जेल हाल्दैमा रास्वपा सकिन्छ भन्ने नसोच्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिईन् । सांसद कार्कीले सहकारी पीडितको बचत फिर्ता गर्नतर्फ नलागेर रबिलाई पक्राउ गरिएको भनी असन्तुष्टि जनाईन् । उनले सहकारी पीडितको आन्दोलनमा रास्वपापनि सँगै रहेको बताईन् ।

प्रतिक्रिया