काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने कारखाना नै फेला परेको छ । विभागले हिजो टोखास्थित एक कारखानामा छापा मार्दा त्यहाँ तस्करीमार्फत आएको सुन गाल्ने काम हुने गरेको खुलेको छ । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशङ्कामा राजस्व अनुसन्धान विभागले थप एक जना चिनियाँ नागरिकलाई पक्राउ पनि गरेको छ । काठमाडौँको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका चिनियाँ नागरिक दावा छिरिङलाई होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका छिरिङको प्रारम्भिक बयानका क्रममा तस्करीको सुन पगाली पुनः दोस्रो आकारमा ढाल्ने गरेको खुलेपछि विभागले टोखास्थित ‘कारखाना’ मा छापा मारेको हो । टोखा गेटनजिक रहेको उक्त कारखानामा कारखानामा तस्करीबाट नेपाल भित्रिएको सुनलाई अर्को वस्तुमा लुकाउन मिल्ने गरी विभिन्न आकारमा ढाल्ने गरेको खुलेको छ । कारखानामा सुन गाल्ने मेसिन र पगाल्ने रसायन भेटिएको छ । सुन ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याउने गरेको भेटिएको छ । ‘ब्रेक प्याड’ मा ल्याएको सुन कारोबारीहरूले अर्कै स्वरूपमा रिप्याक गरेर भारत पठाउने गरेको हुन सक्ने आशङ्का गरिएको छ । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब एक सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेटबाहिरबाट बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा हालसम्म १८ जनालाई विभागले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । पक्राउ परेका अधिकांश तस्करीको सुनका भरिया रहेको पाइए पनि यसको मुख्य लगानीकर्ता को हुन् भन्ने अझै खुल्न सकेको छैन ।। 

प्रतिक्रिया