इजरायलका प्रधानमन्त्री नेतान्याहुको निवास लक्षित गरेर लेवनानबाट ड्रोन हमला

एजेन्सी । लेबनानबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको  निजी निवासलाइृ लक्षित गरेर ड्रोन आक्रमण गरिएको छ । 

नेतान्याहुको  कार्यालयले एउटा ड्रोन इजरायली प्रधानमन्त्री नेतान्याहुको तटीय सहर सिजेरियामा रहेको निजी निवास तर्फ “प्रक्षेपण“ गरिएको जनाएको छ।

त्यतिबेला इजरायली प्रधानमन्त्री र उनकी श्रीमती निवासमा नभएको र घटनामा कोही पनि घाइते नभएको इजरायलको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

इजरायली सेनाले शनिबार बिहान सबेरै लेबनानबाट इजरायलमा तीन ड्रोनहरू प्रक्षेपण गरिएको जनाएको छ । ती मध्ये दुइवटा ड्रोन रोकिएको र एउटा नेतान्याहुको  सिजेरियाको घरमा ठोक्किन पुगेको थियो । इजरायली सरकारले क्षतिबारे केही भनेको छैन । नेतान्याहुले सिजेरिया र जेरुसेलममा दुईवटा निजी घरहरू प्रयोग गर्छन्, र जेरूसेलममा रहेको प्रधानमन्त्रीको आधिकारिक निवास भने मर्मत भइरहेको छ । इजरायलले लेवनानमा मुस्लिम लडाकू समूह हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको छ । हिजबुल्लाहले सो ड्रोन हमला गरेको हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ ।
 

प्रतिक्रिया