सुडानमा ३० लाख मानिस हैजाको जोखिममा

एजेन्सी । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ । 

युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिका सहित करीब ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता  ८५ प्रतिशत बाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशत भन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई  महिनौँ देखि तलव भुक्तानी नगरिएको युनिसेफले जनाएको छ ।  आन्तरिक द्वन्द्व शुरु भए देखि  हैजा, मलेरिया, र डेङ्गुु ज्वरो जस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै  द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।  
रासस 

प्रतिक्रिया