इरानी नेता खामेनीले भने : हमास जिउँदै थियो,जिउँदो रहनेछ


एजेन्सी । इरानी सर्वाेच्च नेता अयातुल्लाह अली खामेनीले हमासका नेता याह्या सिनवारको मृत्युपछि पनि हमास जिउँदो रहने बताएका छन् । 
 सिनवारको मृत्युपछि पहिलो पटक आफ्नो प्रतिक्रिया व्यक्त गर्दे खामेनीले हमास जिउँदो थियो सिनवारको मृत्यु पछि पनि जिउँदै रहने बताएका हुन् ।

 उनले सोसल मिडिया प्लेटफर्म ’एक्स’ (ट्वीटर) मा ’हमास दृढ संकल्पित थियो र दृढ रहनेछ पनि भनेका छन् । प्यालेस्टिनी लडाकू समूह हमासका खनेता  कमाण्डर सिनवार गत बिहिबार इजरायली आक्रमणमा मारिएका थिए । खामेनीले क्रूर शत्रुविरुद्ध जीवनभर लडेका याह्या सिनवार जस्ता व्यक्तिका लागि शहादतभन्दा कम केही पनि स्वीकार्य हुन नसक्ने पनि उल्लेख गरेका छन् । इरानका सर्वोच्च नेताले भनेका छन्, ’सधैंझैं हामी प्यालेस्टिनी मुजाहिद्दीन र योद्धाहरूको साथमा छौं । हाम्रा भाइ याह्या सिनवारको शहादतको अवसरमा म उहाँको परिवार र ईश्वरपथमा जेहादमा समर्पित सबैलाई बधाई ज्ञापन गर्दछु र यस क्षतिप्रति समवेदना प्रकट गर्दछु ।

खामेनीले सिनवारको मृत्यु इजरायलसँगको प्रतिरोध मोर्चाका लागि दुःखद भएको पनि बताएका छन् । सिनवारलाई सन २०२३ अक्टोबर ७ मा इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गर्नेमा प्रमुख योजनाकार मानिन्छ । ७ अक्टोबरमा हमासले १२ सय इजरायली नागरिकको हत्या गर्नुका साथै २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ । 
 

प्रतिक्रिया