सातौँ  अन्तरराष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप आज देखि शुरु

नवलपरासी । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता  शनिबार देखि सञ्चालन भएको छ । 

मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राइनो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटा सहित भारतीय टिमका   १२ क्लब सहभागी हुनेछन् । खेलकुदका माध्यम बाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताए । 

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् । भारतको मणिपुर बाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राइनो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । 

यही कात्तिक १४ गते सम्म हुने प्रतियोगिताको विजेताले उपाधि सहित आठ लाख पुरस्कार हात पार्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताए । 

प्रतियोगिता २०७० साल देखि सञ्चालन हुँदै आएको छ ।
रासस 

प्रतिक्रिया