बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

नेपालगञ्ज । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम समयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो ।  

केन्द्रप्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर, यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधि अनुसार तथ्याङ्क आउनुपर्ने बताए । 

उनले दशैं अघि नै त्यसका लागि स्थानीय तह सँग समन्वय गरिरहेको बताए । “हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ”, उनले भने ।  

जिल्लाको ३४ हजार ५ सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ । 

जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गत वर्ष भन्दा यस वर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए । उनले समयमा नै पानी परेको र  समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे ।

रासस 
 

प्रतिक्रिया