रबि लामिछाने पक्राउको बिरोधमा पोखरामा प्रदर्शन
काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई पक्राउ गरेको बिरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
लामिछानेलाई हिजो शुक्रबार साँझ सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार नै पोखरा लगिएको थियो ।
आज शनिबार रास्वपा नेता, कार्यकर्ताले कास्कीको मानव अधिकार चोक चिप्लेढुंगामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरिरहेका छन् । लामिछानेलाई संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । लामिछानेसँग राजनीतिक प्रतिशोध साँध्न खोजिएको पनि रास्वपाका कार्यकर्ताको दाबी छ ।
प्रतिक्रिया