महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त

काठमाडौं । महिला टि–२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन् । 

दोस्रो सेमिफाइनलमा शुक्रबार राति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । यस अघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ । 

दोस्रो सेमिफाइनलमा टस जितेर सुरुमा ब्याटिङ रोजेको न्यूजिल्यान्डले दिएको १२९ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिज फाइनल प्रवेशमा चुकेको हो । पूरै २० ओभर खेलेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो । न्यूजिल्यान्डलाई जित दिलाउने क्रममा एडन कार्सनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिइन् । 

यसैगरी एमेली केयरले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारिन । कार्सन सो खेलको उमन अफ द म्याच समेत घोषित भइन् । वेस्ट इन्डिजका लागि अलराउण्ड प्रदर्शन गरेकी डियट्रा डोटिनले २२ बलमा ३३ रन जोडिन् । एफी फ्लेटचर १७ रनमा अविजित रहिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतीमा १२८ रन जोडेको हो । 

टोलीका सुजी बेट्सले २६ तथा जर्ज प्लिमरले ३३ रनको योगदान गरे । इस्बेला गाजा १४ बलमा २० रन जोड्दै अविजित रहिन् भने ब्रुक हलीले ९ बलमा १८ रन जोडिन् । वेस्ट इन्डिजका लागि डोटिनले ४ ओभरमा २२ रन खर्चिँदै ४ विकेट लिइन् । 

भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनल समीकरण अगाडि नै बाहिरिएको यो प्रतियोगितामा फाइनल भिडन्तमा न्यूजिल्यान्ड पुगेको हो ।


 

प्रतिक्रिया