महिला द्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । 

डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्री वितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरी बाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक सङ्गीता ओझाले जानकारी दिइन् ।

सहकारीले सञ्चालन गरेको डेरी बाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अब देखि उक्त पसल बाट पनि बिक्री वितरण गरिने ओझाले बताइन्। 

उनका अनुसार डेरी उद्योग मार्फत मासिक १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ । 

देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबार सँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपानलन, तरकारीखेती तथा सामूहिक रुपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ ।

उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन्। 

उनका अनुसार दूध बाट दुग्धजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा लगायत उत्पादन हुँदै आएको छ । सहकारीमा हाल सात सय ९४ जना शेयर सदस्य रहेका छन् । 

सहकारीमा देवघाटको वडा नं १, ४ र ५ का महिला सदस्य छन् । शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दुग्धजन्य वस्तु उत्पादनगरी बिक्री गर्दै आइएको छ । उत्पादित दुग्धजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोट लगायत बजारमा डेरी पसल मार्फत बिक्री गर्दै आएको छ । 

अध्यक्ष पन्तले भनिन्, “बचत सङ्कलन तथा ऋण लगानीमार्फत शेयर सदस्यलाई व्यवसायमा सघाउने तथा उनीहरुको आर्थिक अवस्था सुधार्ने सहकारीको उद्देश्य हो । पछिल्लो समय सहकारीका सदस्य मिलेर समूह बनाएर सामूहिक रुपमा अदुवा र बेसारखेती गरेका छन् ।”
रासस 

प्रतिक्रिया