भारतीय प्रधानमन्त्री मोदी फेरि रुस भ्रमणमा जाँदै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जाने भएका छन् । 

यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उनी रुस जान लागेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लागेका हुन् । उनले गत जुलाईमा पनि रुसको भ्रमण गरेका थिए । रुस भारतका लागि पेट्रोलियम पदार्थ र हतियारको महत्तवपूर्ण आपूर्तिकर्ता हो । तर, युक्रेन युद्धका कारण रुस पश्चिमा देशहरू सँग टाढा भइरहेको र चीन सँगको बढ्दो सम्बन्धले रुस र भारत बीचको सम्बन्धमा प्रश्न उठाएको छ । 

भारतले युक्रेनमा रुसी युद्धको विरोध गरेको छैन । दुई देश बीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न भारतले प्रस्ताव गर्दै आएको छ । युरोपमा पुराना खरिदकर्ताहरूले छोडेको अवस्थामा भारत रुसी कच्चा पेट्रोलियम पदार्थको मुख्य ग्राहक बनेको छ । 

मोदीको रुस भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमहरूले प्राथामिकताका साथ चर्चा गरिरहेका छन् । 

प्रतिक्रिया