सुक्खाबन्दरगाह द्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्जको सिर्सिया स्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्त सम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । 

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व सङ्कलन २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए । 

“गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आए सँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ”, उनले भने, “चालु आर्थिक वर्षको दशैंमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।” 

कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात  तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गर्‍यो यो । त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन गर्‍यो । 

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन गर्‍यो  । 

सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्त सम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।
रासस 

प्रतिक्रिया