खुर्कोटको पुल निर्माणमा तीव्रता

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरे सँगै रामेछाप तर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । 

यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछाप तर्फको) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौं सम्मकोे छोटो दूरीको सडक मार्गको सञ्जाल टुटेको थियो । 

अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्ने गरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चा पदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिरहेको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताए । 
  
उक्त पुलको भाग रामेछाप तर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीन देखि पाँच दिन सम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउने लगायत अन्य काम भइरहेका छन् ।

पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थली तर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदा सम्म निर्वाध रुपमा दुई तर्फी सवारी आवागमन गर्न सक्ने अवस्था छैन । एकतर्फी रुपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताए । 

खुर्कोटको पुल बगाए पछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुल मार्फत वैकल्पिक सडकमार्ग प्रयोगगरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटो मार्फत ल्याइएका खाद्यान्न सामग्री महङ्गिएको थियो । 

यसअघि विपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थली लगायत आसपासका क्षेत्र बाट मानिसले काठमाडौं आवतजावत गर्न मन्थली बाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए । नेपाली सेनाका अनुसार अबको तीन देखि पाँच दिन भित्र बाट मात्र पुल बाट सवारी अवागमन गराउन सकिन्छ ।  

रासस 

प्रतिक्रिया