सडक विभागका उच्चस्तरीय टोली द्वारा फोक्सिङटार पुल निरीक्षण

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशी स्थित फोक्सिङटार पुल बाढीले बगाए पछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । 

सडक विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा प्रमुख ललिजन खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा. राजन सुवाल र डा. भरत मण्डल सहितको टोली फोक्सिङटार पुगेका थिए । नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको निष्कर्ष निकालेको छ । 

बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यस माथि ८० मिटर लम्बाइको बेलिबृज लगाउने या पुल बगाएको स्थान भन्दा केही माथि एक सय २० मिटरको बेलिबृज हालेर यातायात सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिए । सडक विभागले ८० मिटर बढी लम्बाइको बेलिबृज भारत सरकार सँग माग गरेको र आउने बित्तिकै जडान गरिने महाशाखा प्रमुख खनालले बताए । 

बाढीले फोक्सिङटारको पुल बगाए पछि पूर्वी तराई सँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले फोक्सिङटार पुल बगाए पछि जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गे पुलको मर्मत सम्बन्धित स्थानीय तहले तीव्रता दिएका छन् । 

गत असोज ३० गते प्रतिनिधिसभा सदस्य रामकुमार राई नेतृत्वको जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढी पहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचना तत्काल पुनः निर्माणको माग गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

बाढी पहिरोले अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडक भने, पहिरो पन्छाएर सञ्चालन गरिएको छ ।
रासस 

प्रतिक्रिया