सप्तरी बाट १३ जना सडक आश्रितको उद्धार

सप्तरी । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन सप्तरी बाट शुक्रबार १३ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावना सहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । 

उद्धार गरिएका ११ जना पुरुष र दुई जना महिलालाई शुक्रबार नै मानवसेवा आश्रम सर्लाही सेवा केन्द्रमा पठाइएको छ । यसअघि मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार टोलीलाई सप्तरीको राजविराजमा स्वागत गरिएको थियो ।

राष्ट्रिय उद्वार यात्राको टोली तथा स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार राजविराजमा संयुक्त रूपमा सचेतनामूलक र्‍याली प्रदर्शन सहित राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी नगरपालिकाको प्राङ्गणमा अभियानको उद्देश्य बारे जानकारी गराइएको थियो । 

उक्त अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साह लगायत उपस्थित थिए । 

राष्ट्रिय उद्धार यात्रीहरूले कोशी प्रदेशमा ४३ जनाको उद्धार गरेका छन् । जसमध्ये झापा बाट १२ जना, सुनसरी बाट १२ जना मोरङ बाट ४ जना र उदयपुर बाट १६ जनाको उद्धार गरिएको हो । उद्धार हुनेहरूमा ९ जना महिला र ३५ जना पुरुष छन् । उद्धार भएका मध्ये १० जनालाई मानवसेवा आश्रम झापा सेवा केन्द्रमा र ३० जनालाई मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा पठाइएको छ । एक जनालाई थप उपचारका लागि मानव सेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडा पठाइएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री निवास बालुवाटार बाट प्रधानमन्त्री के.पी. शर्मा ओलीले यात्राको समुद्घाटन गर्दै यात्रीहरूलाई बिदाइ गरेका थिए । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गते सम्म चल्नेछ । झापाको मेचीनगर–६ काँकरभिट्टा स्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको थियो ।

उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धारमा रहने जनाइएको छ ।  
रासस 

प्रतिक्रिया