ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

दाङ ।  वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । 

उनीहरुको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।

भास्कर सँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लागेका छन्।  कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्छन् । कपिलवस्तुमा छ वर्ष पहिले देखि फूल खेतीमा लागेका पंगेनी र साउदले तीन वर्ष अघि देखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका छन् । 
घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक दुई हजार भाडामा लिएर उनीहरुले फूलखेती गरेका छन् । गत वर्ष तिहारमा मात्रै  १३ लाखको फूल बिक्री गरेको साउदले बताए । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर  पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरुको छ । 

उनीहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूल बाट खेती सुरु गरेका थिए । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए । 

“यी सबै फूलको बीउ थाइल्यान्ड बाट ल्याएर उमारेका हौँ”, उनले भने, “यसपालि दुई लाखको बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर प्रति गोटा दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।” 

स्वदेशमै कृषि बाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउछन् । उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राखेका छन् ।  फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको  भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समय सम्म राख्न समस्या भएको उनी बताउछन् । 

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनले बताए  । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ । 
रासस

प्रतिक्रिया