माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

दोलखा । दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको  छ । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र  पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पु¥याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध नजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो  । पहिरो हटाउने काम थालिएको उनले बताए ।आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका  कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको छ । यसबाट मर्मत गर्न समय लागेको उनको भनाइ छ । बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने छ । “तिहार लगत्तै विद्युुत् उत्पादन थाल्छौँ”, उनले भने ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी, नहरलगायत संरचनामा क्षति पुगेको छ । पहिरोले विभिन्न संरचनामा अत्यधिक क्षति पुर्‍याएपछि विद्युत् पुरै उत्पादनमा समय लाग्ने आयोजनाले जनाएको छ । विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । बाढी पहिरोबाट रु दुई अर्बको क्षति भएको बताइएको छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु चार करोड आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमाान गरिएको छ ।

प्रतिक्रिया