उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुुरु गरेका छन् । पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आज शुक्रबार आयोजनाका महानिर्देशकसहित सातै प्रदेशका आयोजना प्रमुखसँगको समीक्षात्मक छलफलमा उनले कार्य प्रगतिबारे जानकारी लिए ।

उपप्रधामनमन्त्री सिंहले आयोजना कार्यान्वयनका समस्या पहिचान गरी कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । “तपाईहरूसँगको छलफलपछि समस्या के छ  भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु”, उनले भने । छलफलमा आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखले चालु आर्थिक वर्षमा भएका उपलब्धि, भोग्नुपरेका समस्या र भइरहेका कामबारे  प्रस्तुतीकरण राखेका थिए ।

यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढीपछि भएका कामबारे पनि जानकारी गराइएको थियो । आयोजना प्रमुखहरूले पूर्वतयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम जारी रहने, एउटै आयोजनामा पनि दोहोरोपनाको समस्या रहेकाले यस्तो काम रोक्नुपर्नेमा जोड दिएका थिए ।मन्त्रालयका सचिव मणिराम गेलालले छलफलले चालु आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाका तर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारे धेरै विषय प्रष्ट भएको बताए । यसले आगामी दिनमा काम गर्न थप सहज हुने बताए । 
 

प्रतिक्रिया