मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दै छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउने बताइएको छ । 

बिहीबार आयोग गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता सँग छलफल गरेका थिए । सोही छलफलको सहमति अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठक बाट आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्न समिति बनाउने भएको हो । 

सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था र द्वन्द्व पीडितको चासोबमोजिम कानून संशोधनमा ढिलाइ हुँदा संक्रमणकालीन न्याय निरुपण प्रक्रिया लामो समय देखि अवरुद्ध छ । बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७९ असार देखि पदाधिकारी विहीन छन् । 

बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्का दुवै सदन बाट पारित भई राष्ट्रपति बाट गत भदौ १३ मा प्रमाणीकरण भइसकेको छ ।  संशोधित कानून बमोजिम नियमावली बनाउन भने अझै बाँकी छ । दुवै आयोगमा अध्यक्ष र चार सदस्य हुने कानूनी व्यवस्था छ । अध्यक्ष र सदस्य सिफारिसका लागि समिति गठन गर्ने प्रबन्ध पनि ऐनमै छ । 

सिफारिस समितिमा पूर्व न्यायाधीशहरू मध्ये बाट नेपाल सरकारले तोकेको व्यक्ति, मानवअधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञान बेपत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्तिप्रक्रियामा संलग्न व्यक्ति मध्ये बाट नेपाल सरकारले मनोनयन गरेको कम्तीमा एक सहित तीन सदस्य हुनुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया