कहीँ नभएको जात्रा हाँडीगाउँमा

काठमाडौं । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी टोल टोलमा रथ घुमाइने हाँडी गाउँको जात्रा शुक्रबार मनाइँदैछ । 

दशैंको कोजाग्रत पूर्णिमाको भोलि पल्ट काठमाडौंको हाँडीगाउँमा विशेष रूपमा यो जत्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको छ  । 

कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकाले पछि औपचारिक रूपमा जात्रा सुरु हुने गर्दछ । टङ्गाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटाल टोल बाट ब्रह्माको रथ र बिच भागको डठु अर्थात न्याल्म टोल बाट विष्णु अर्थात नारायणको रथ तानेर तल्लो टोल कोटाल टोलमा बनाइने महेश्वर अर्थात लक्ष्मीको रथ रहेको ठाउँमा ल्याएपछि हाँडीगाउँको जात्रा सुरु भएको थियो । 

जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घर घर बाट आएर पूजा गर्ने चलन छ । तीन दिन सम्म मनाउने जात्रामा निकालिएका तीन वटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । 

रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भिड हुने गर्छ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुँघाउँदा पीडा कम हुने जनविश्वास छ । सत्यनारायणलाई खुसी पार्न मनाइने भएकाले स्थानीयहरू यसलाई ‘सत्यनाराणको जात्रा’ का रूपमा मनाइन्छ । 

अरूको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राका रूपमा चिन्ने गरिन्छ ।
 

प्रतिक्रिया