बाढीका कारण धान उत्पादनमा कमी आउने आकलन

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा क्षति पर्‍याउँदा उत्पादनमा कमी आउने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । 

बाढीका कारण सबै भन्दा क्षति कृषि क्षेत्रमा भएको छ । कृषि मन्त्रालयले गराएको जानकारी अनुसार करिब छ अर्बको क्षति कृषिमा भएको छ । त्यसमध्ये सब भन्दा बढी धानमा भएको छ । यो क्षतिका कारण धान उत्पादनमा ह्रास आउने सम्भावना देखिएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको छ । जसमा तीन अर्ब ५० करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रे लगायतका क्षेत्रमा धानबाली नष्ट भएको कृषि मन्त्रालयले जनाएको छ । 

यो वर्ष १३ लाख ९८ हजार ९८५.७३ हेक्टरमध्ये ९८.५ प्रतिशत धान रोपाइँ भएको थियो अर्थात् १३ लाख ७८ हजार ६११.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखिएको थियो । 

धानमा पुर्‍याएको क्षतिले भने लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ । यस पटक ६० लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने आकलन कृषि मन्त्रालयको थियो ।

प्रतिक्रिया