बुद्धमाई अस्पताललाई १ लाख जरिवाना

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै  एक लाख जरिवाना गरेको छ ।

उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलो पटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिए पछि अनुगमन टोलीले रङ सङ्केत सहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । 

अनुगमन बाट फर्किए पछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटक पटक दिएको आग्रहलाई अटेरी गरे पछि चौथो पटक गरिएको अनुगमनका क्रममा  एक लाख जरिवाना गराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 
अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । 

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । काठमाडौं महानगरपालिकाले पटक पटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरे पछि जरिवाना गराएको जनाएको छ । 

यस भन्दा अघि पनि उक्त अस्पताललाई काठमाडौं महानगरपालिकाले १५ हजार जरिवाना गरेको थियो ।
रासस 

प्रतिक्रिया