म्याग्दीका ६ वडामा एकै पटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका ६ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोट बाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।

मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले  १८ करोड लागतमा छ वटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । 

अघिल्ला दुई आर्थिक वर्षमा फरक फरक ठेक्का मार्फत भवन निर्माण गरिएको हो । केही समय अघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो ।

स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा  ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालय मार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिए । 
रासस

प्रतिक्रिया