दशैंमा कोशी प्रदेशमा २ सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

सुनसरी । दशैंमा कोशी प्रदेशमा २ सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दशैंको अवधिमा कोशी प्रदेशमा २ सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको हो ।

घटस्थापना देखि असोज २९ गते सम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा सबै भन्दा बढी मोरङमा र सबै भन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए । 

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दशैंका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।
रासस 

प्रतिक्रिया