मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिवल

गण्डकी ।  मुस्ताङ आर्ट प्रोजेक्टको आयोजनामा हिमालपारीको जिल्ला मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा यही कात्तिक २ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिवल हुुने भएको छ ।हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा आफूहरू सामूहिक प्रयासमा जुटेको भन्दै उनले पहिलोपटक मुस्ताङमा यस किसिमको कार्यक्रम गर्न लागिएको युवा ट्रिपल पि गुरुङले जानकारी दिए ।

महोत्सवमा नेपालका श्रीजन राजकर्णीकार, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीन नाल्बोलगायत थाइल्याण्ड, पोल्याण्ड, रुमानिया, इन्डोनेसिया, ताइवान र भुटानका १६ जना कलाकारले हिमाली क्षेत्रमा तत्स्थानीय  सजीव चित्रकला र सिर्जनात्मक प्रस्तुति दिने भएका छन् ।महोत्सवमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवअन्तर्गत हुने फिल्म प्रदर्शनीले पर्वतीय समुदायको कथा र प्रकृतिको सौन्दर्यलाई सिनेमाका माध्यमबाट प्रस्तुत गर्ने भएको छ ।

फिल्म प्रदर्शनीले हिमाली जनजीवनको सङ्घर्ष, सफलताका कथा र प्राकृतिक छटालाई पर्दामा उतार्नेछ, जसले दर्शकलाई हिमाली जीवनशैलीको अनभिज्ञ पक्षहरूसँग जोड्नेछ । हिमाली क्षेत्रको भू–गर्भीय विशेषता महोत्सवको अर्को आकर्षण रहेको छ । फोसिल हन्ट र स्टोन आर्ट कार्यक्रमले पुराना जीवाश्मको खोजी र त्यसमा आधारित कला सिर्जनालाई प्रोत्साहित गर्ने भएको छ ।

हिमाली क्षेत्रको समृद्ध इतिहास र भूगर्भीय महत्वलाई कलात्मक रूपमा प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको गुरुङले बताए । संस्कृति र परम्परालाई जीवन्त राख्न स्थानीय सङ्गीत, नृत्य र सांस्कृतिक कार्यक्रम पनि राखिएको महोत्सवमा मुख्य प्रायोजकमा रेडहाउस लज र थाङविल्ला रहेका छन् भने युरोपियन युनियनले सहयोग गरेकोे छ । मुस्ताङको प्राचीन सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आयोजित महोत्सवले नेपाललाई विश्व सांस्कृतिक क्षेत्रमा स्थापित गर्ने अभिप्रायः राखेको छ ।

महोत्सवले हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको महत्वलाई कलाका माध्यमबाट उजागर गर्दै स्थानीय पर्यटनलाई प्रोत्साहन गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपाली कला र संस्कृति प्रस्तुत गर्न, मुस्ताङ क्षेत्रलाई थप लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने गुरुङले विश्वास व्यक्त गरे ।

स्थानीयस्तरमा रोजगार सिर्जना गर्न, सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्‍याउन र अन्तर्राष्ट्रियस्तरमा नेपालको सांस्कृतिक पहिचानलाई महोत्सवले मजबुत बनाउने र यो नेपालका लागि मात्र नभई समग्र विश्वका कलाप्रेमीका लागि प्रेरणाको स्रोत बन्नसक्ने आयोजकले दाबी गरेको छ । 

प्रतिक्रिया