निर्वाचन नजिकिँदै गर्दा बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत

एजेन्सी । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् ।

पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्ने ह्वाइट हाउसले बताएको छ । 

ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार रहेकी छिन् । उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दै छिन् ।

यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ ।

पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन्। शिक्षक, नर्स र अन्य व्यक्तिहरूलाई समर्थन गर्ने कार्यक्रमको प्रतिबद्धतामा १० वर्षको सार्वजनिक सेवा र १० वर्षको भुक्तानी पछि विद्यार्थी ऋण माफी समावेश थियो ।

कोरोना भाइरस महामारीको समयमा पूर्वराष्ट्रपति ट्रम्पले लागू गरेको विद्यार्थी ऋण भुक्तानीको रोक्कापछि बाइडेनले लाखौँ अमेरिकीका लागि विद्यार्थी ऋण रद्द गर्ने प्रयासहरू सुरु गरेका छन् । अमेरिकीहरूसँग चार सय ११ खर्ब डलर विद्यार्थी ऋण छ र केहीले जागिर र परिवार सुरु गर्दा दशकौँ सम्म तिर्नुपर्ने हुन्छ ।
 

प्रतिक्रिया