सुन तस्करी प्रकरण: ठमेलस्थित होटलबाट एक जना पक्राउ

टोखामा रहेको सुन गाल्ने कारखानामा शील

राजस्व अनुसन्धान विभागले ठमेलमा सञ्चालित होटल भियनामा छापा मारेको छ ।  त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले आज विहान छापा मारेको हो । सो क्रममा विभागले नेपाली मुलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । उनी नेपालबाट बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुसन्धानबाट खुलेको छ । उनीसँग नेपाली नागरिकतासमेत रहेको खुलेको छ । यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अठार पुगेको छ । विभागको टोलीले गएराति काठमाडौंको टोखामा पनि छापा मारेको थियो । विभागले प्रि–फ्याबको घरभित्र सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने उद्योग भेटिएपछि छापा मारेर सिल गरेको हो । पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोली उद्योगसम्म पुगेको हो । सो स्थानमा विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डल लगायतका सामग्री बरामद गरेको बताइएको छ । सो स्थानमा कस्तो स्परुपमा सुन परिणत गरिन्थ्यो भन्ने स्पष्ट भएको छैन । हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले टोखामा लगेर स्वरुप परिवर्तन गर्ने गरिएको आशंका विभागको छ । साउन दुई गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएपछि विभागले छानविन जारी राखेको छ ।

प्रतिक्रिया