राष्ट्रपति पौडेल द्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गरेका छन् । यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले  परापूर्वकाल देखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताए । उनले भने, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु–सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।” 

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताए ।  बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै उनले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए । 

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको बताए  ।  यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाट्यश्वरी देवीको मन्दिर नेपालको प्रसिद्ध धार्मिकस्थल हो । बडिमालिका दर्शनपछि नाट्यश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रही आएको छ । 

स्कन्धपुराणको मानस खण्डमा यस स्थलको उल्लेख गरेको पाइन्छ । यसअघि आज बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका थियो । सो अवसरमा प्रथम महिला सबिता पौडेल सहभागी थिए । 

प्रतिक्रिया