महिला विश्वकप: मोरक्कोद्वारा दक्षिण कोरिया १–० ले पराजित
मोरोक्कोले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ । आज विहान भएको समूह एचको दोस्रो खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोल अन्तरले हराएको हो । खेलको छैटौं मिनेटमा इब्तिसाम जरैदीले गरेको गोल नै खेलमा निर्णायक भयो । विश्वकपमा मोरोक्कोको यो पहिलो जित हो । जितसँगै मोरक्कोले अन्तिम सोह्रमा प्रवेश गर्ने संभावना कायमै रहेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको दक्षिण कोरियाको भने सम्भावना कमजोर बनेको छ । मोरक्कोकी डिफेन्डर नौहाइला बेन्जिनाले विश्वकपमा हिजाब लगाउने पहिलो खेलाडी बनेकी छन् । २५ वर्षीया बेन्जिमाले इस्लामिक हेडस्कार्फ लगाएर मैदान उत्रिएकी हुन । फिफाले सन् २०१४ मा हिजाब लगाएर विश्वकप खेल्न अनुमति दिएको थियो । मोरक्कोमा आफ्नो क्लब फुटबल खेल्ने बेन्जिना सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी हुन । मोरक्को यस महिला विश्वकपमा डेब्यु गर्ने आठ टोलीमध्ये एक हो । समूह एमा रहेका नर्वे र फिलिपिन्स तथा स्विजरल्याण्ड र न्युजिल्याण्डबीचको खेल जारी छ । यही समूहका जर्मनी र कोलम्बियाले दिउँसो सवा तीन बजे खेल्दैछन् । पहिलो खेलमा मोरोक्को जर्मनीसँग ६–० र दक्षिण कोरिया कोलम्बियासँग २–० ले पराजित भएका थिए ।
प्रतिक्रिया