भारतका शक्तिशाली गुण्डानाइके लरेन्स

एजेन्सी । भारत र क्यानडाबीच अहिले तनाव चर्किएको छ । 

यो बिवाद सन् २०२३ मा क्यानडाका सिख नागरिक हरदीप सिंह निज्जरको क्यानडाको ब्रिटिस कोलम्बिया स्थित सर्रे शहरको एक गुरूद्वाराको पार्किङमा गोली हानी हत्या भएपछि चर्किएको हो । 

उनी छुट्टै सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना हुनुपर्छ भन्ने पक्षधर थिए । सिख धर्म विश्वको एउटा मुख्य धर्ममध्ये एक हो। यो धर्म अहिलेको भारत र पाकिस्तानमा पर्ने पन्जाब क्षेत्रमा सोह्रौँ शताब्दीमा सुरु भएको हो। विश्वभरि झन्डै दुई करोड ५० लाख सिखहरू छन्। धर्मप्रति आस्था राख्ने विश्वको यो पाँचौँ ठूलो समूह हो। भारतले सिख राज्यको उठान पृथकतावादी भन्दै यो विषयप्रति उ कठोर छ । भारतले नै हरदीप सिंह निज्जरको हत्या लेरन्स बिश्नोइ ग्रुपको प्रयोग गरेर गरेको भन्ने क्यानडाको ठहर छ ।

विश्नोइ बिभिन्न आपराधिक कार्यमा संलग्न रहेका छन् । उनको केही राज्यमा चन्दा असुली,फिरौती,अपहरण,हत्या लगायतका आपराधिक गतिबिधिमा संलग्नता रहेको मानिन्छ ।भारतले क्यानडाका  हरदीप सिंह निज्जरका हत्यामा लरेन्सकै समूहका व्यक्ति प्रयोग गरेको क्यानडाको आरोप छ । भारतले भने क्यानडाको आरोपको खण्डन गर्दै आइरहेको छ । यहीबाटै भारत र क्यानडाबीच तनाव सिर्जना भएको हो ।

हरदीप पहिला भारतकै नागरिक भएपनि पछि उनी क्यानडाका नागरिक बनेका थिए । उनी खालिस्तान राज्य हुनुपर्छ भन्ने बिचारका ब्यक्ति थिए । भारतमा रहेका सिखहरुमध्ये केहीले  खालिस्तान  छुट्टै राज्य बनाइनुपर्छ भन्दै आएका छन् । यसमै भारतको टाउको दुखाइ हो । भारतले खालिस्तान माग गर्नेलाई निशाना बनाइरहेको क्यानडाको दाबी हो ।

त्यसकारण बिश्नोई ग्रुपको सहयोगमा भारतीय एजेन्टहरूले क्यानडामा दक्षिण एसियाली मूलका व्यक्तिहरू, विशेष गरी खालिस्तानी समर्थकहरूलाई चियोचर्चाे गर्ने गरेका छन् । तनाव बढ्दै जाँदा भारत र क्यानडा दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन पनि गरेका छन् । 

लरेन्स बिश्नोई जोडिएका अपराध

बिश्नोई सन् २०२२ को अक्टोबरमा मारिएका लोकप्रिय पञ्जाबी गायक सिद्धू मूसे वालाको हत्याका मुख्य आरोपी समेत हुन्

क्यानडा प्रहरीले अहिले स्वदेश तथा विदेशमा चर्चामा आएका ३१ वर्षीय लरेन्स बिश्नोईबारे चासो राखेको छ । भारतीय प्रहरीले बिश्नोईको ’ग्याङ’माथि गत शनिबार भारतका चर्चित ६६ वर्षीय राजनीतिज्ञ बाबा सिद्दिकीको हत्यासँग सम्बन्धित भएको आरोप लगाएको छ । बिश्नोईका सहायक भएको आरोप लागेका एक जनाले सामाजिक सञ्जालमा उक्त हत्यामा आफ्नो गिरोहको हात रहेको उल्लेख गरेका छन्। कुनै समय भारतको सर्वाधिक खोजीको सूचीमा रहेका बिश्नोई सन् २०१४ बाट जेल पर्दै  धरौटीमा छुट्दै आएका छन् ।   

सन् २०१८ मा दुईवटा काला हरिण मारेको आरोपमा बलिवुड स्टार सलमान खानलाई धम्की दिएर बिश्नोईले थप कुख्याति कमाए। कालो हरिण राजस्थानको बिश्नोई समुदायको संरक्षित जनावर हो।

जोधपुरको एउटा अदालतमा पेस गरिँदै गर्दा उनले  खुल्लमखुल्ला भनेका थिए,“सलमान खानलाई यहाँ जोधपुरमा मारिने छ ... त्यसपछि उनलाई हामी वास्तवमा को हौँ भन्ने थाहा हुने छ ।“संयोगवश, हत्या गरिएका राजनीतिज्ञ सिद्दिकी सलमानका निकट मित्र थिए।

गत वर्ष मार्चमा एउटा समाचार च्यानलले पञ्जाबको जेलभित्र लिइएका बिश्नोईका दुइटा अन्तर्वार्ता प्रसारण गरेपछि उच्च अदालतले छानबिन गर्न आदेश दियो। उच्च सुरक्षा व्यवस्थाबीच ती कैदीले जेलबाटै फोनमा अन्तर्वार्ता दिने प्रबन्ध कसरी मिलाए भन्ने कुरा रहस्यमै छ ।

’जेलबाटै गिरोह’

सङ्घीय अनुसन्धानकर्ताहरूले बिश्नोईले पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीमा गरी ७०० सदस्यसहितको गिरोहमाथिको नियन्त्रणलाई कायम राखेको र तीमार्फत् सेलिब्रटीहरूलाई लुट्ने, लागूपदार्थ तथा हतियार आदिको तस्करी गर्ने र ’लक्षित’ हत्यामा सामेल हुने गरेको अनुमान गरेका छन्।प्रहरीका अनुसार मूसे वालाको हत्याका सहआरोपी तथा बिश्नोईका साझेदार गोल्डी ब्रारले क्यानडाबाटै ’रिमोट कन्ट्रोल’बाट गिरोह सञ्चालन गर्छन्।तीसभन्दा धेरै मुद्दाको सामना गरेकोमा बिश्नोई विरुद्धका १९ मुद्दा सुनुवाइका क्रममा छन् ।

बिश्नोई सम्पन्न परिवारमा जन्मिएका थिए। उनको परिवार पञ्जाबस्थित उनको गाउँमा सबैभन्दा धनीमध्येको हो। उनीहरू १०० एकडभन्दा बढी भूमिमा फैलिएको विशाल बङ्गलामा बस्दै आएका छन्।

उनका पूर्वप्रहरी बुवाले पारिवारिक जग्गाको रेखदेख गर्न भनेर जागिर छाडेका थिए। उनकी आमा गृहिणी हुन्। ती दम्पतीले दुई छोराहरू लरेन्स र अनमोललाई हुर्काएकोमा अहिले दुवै मूसे वालाको हत्यामा आरोपित छन्।
सन् २००८ मा विद्यालय शिक्षापछि उनी चण्डीगढको एक कलेजमा सरे। सहरको विद्यार्थी राजनीतिमा छिट्टै घुलमिल पनि भए। उनी विद्यार्थी सङ्गठनमा सामेल भए, चुनाव पनि लडे, तर हार्न पुगे। यो हारलाई उनले व्यक्तिगत रूपमा लिए।

प्रहरी विवरणका अनुसार यो मोडले उनलाई हिंसाको संसारको निकट पुर्‍यायो, उनी नेताबाट अपराधी बने । त्यसपछि चाँडै नै बिश्नोईको नाम क्याम्पसमा हुने झैझगडा, आगजनी र गोलीबारीका घटनाहरूमा जोडिन थालेको भारतीय प्रहरीको भनाई छ । 

बिश्नोईको गृहराज्य पञ्जाबमा ठूलो सङ्ख्यामा उपस्थित आपराधिक गिरोहहरूले लागुपदार्थ तथा हातहतियारको तस्करी र जबरजस्ती पैसा असुली गर्नुका साथै स्थानीय चलचित्र तथा सङ्गीत उद्योगमा पनि प्रभाव जमाएका छन्। 

प्रहरीका अनुसार बिश्नोई चारवटा मुद्दामा दोषी पाइएका छन्, यद्यपि हत्याजस्तो गम्भीर घटनामा भने अहिलेसम्म दोषी ठहरिएका छैनन्।

बिश्नोईको उदय अरूभन्दा फरक छ। “जेलमा भए पनि उनले आफ्नो गिरोह चलाइरहेको देखिन्छ। उनलाई आवश्यक सामग्रीहरू कसले उपलब्ध गराउँछ वा मिडिया पहुँच कसले दिन्छ? शक्तिशाली सहयोगीबिना यस किसिमको नियन्त्रण असम्भव भएको भारतीय जानकारहरु बताउँछन् । क्यानडामा बिश्नोई गिरोहमाथि आरोप लगाएपछि केही विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका छन् । 
जेलमा छँदा उनले अपराधको दुनियाँमा आफ्नो पहिचान बनाए र सन् २०१४ देखि प्रायः जेलमा छन्। सन् २०१५ देखि २०१७ सम्म उनी पञ्जाबको पटियाला जेलमा थिए । सन् २०१७ मा बिश्नोईलाई जमानत दिइएको थियो । तर त्यसको केही समयपछि उनलाई अर्को मुद्दामा पक्राउ गरिएको थियो । सन् २०१८ देखि २०२० सम्म उनी दिल्लीको तिहाड जेलमा थिए ।

त्यसपछि सन् २०२०–२१ मा उनलाई पञ्जाबको बठिण्डा जेल पठाइयो । सन् २०२१ मा बिश्नोईलाई राजस्थानको अजमेरको सेन्ट्रल जेलमा राखिएको थियो ।

सन् २०२१ मा संगठित र अन्डरवर्ल्ड अपराध नियन्त्रणका लागि मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट) ले सुरक्षाको कारण देखाउँदै तिहाड जेलमा रहेको एउटा मुद्दा बन्द गरिदिएको थियो । सन् २०२२ को जुनमा बिश्नोईलाई पञ्जाब प्रहरीले सिद्धु मुस्सेवालाको हत्याको आरोपमा पक्राउ गरेको थियो । सोही क्रममा प्रहरीले उनलाई १४ दिन हिरासतमा राखेको थियो ।

नोभेम्बर २०२२ मा बिश्नोईलाई सुरुमा कपुरथला जेलमा राखिएको थियो र पछि दिल्लीको तिहाड जेलमा स्थानान्तरण गरिएको थियो। त्यहाँबाट गुजरात प्रहरीले उनलाई हिरासतमा लिएर अहमदाबादको साबरमती जेलमा राखेको थियो ।

प्रतिक्रिया