‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

वीरगञ्ज । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखापर्‍यो। दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो ।

भन्सार विभागको आर्थीक वर्ष २०७२/७३ को तथ्याङ्क अनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएर नेपाल भित्रिएको थियो । सो वर्ष असोजदेखि माघसम्म चलेको मधेस आन्दोलन र अघोषित नाकाबन्दीको कारणले कुल आयातमा वीरगञ्ज भन्सार कार्यालयको हिस्सा २३ दशमलव ५० र यहाँकै अर्को सुक्खा बन्दरगाह भन्सार कार्यालयको हिस्सा भने १२ दशमलव २३ प्रतिशत रह्यो ।

आन्दोलनका कारणले नाका बन्द भएसँगै यहाँबाट हुने आयात मात्रै खुम्चिएन, यहाँबाट हुने आयात पनि भैरहवा भन्सार कार्यालय तर्फ सरेको थियो । सोही वर्ष भैरहवा भन्सार कार्यालयबाट कुल आयातको २४ दशमलव ०७ अर्थात रु एक खर्ब ८६ अर्ब ४८ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । 

संविधान जारी भएको नौ वर्षपछि भने वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने कुल आयातको सामानमा भने फेरि पहिलाकै जस्तै गुल्जार देखिएको छ । अहिले वीरगञ्जका दुई ठूला भन्सार नाकाबाट कुल आयातको झन्डै ५० प्रतिशतको हाराहारीमा वस्तु तथा सामान आयात हुँदै आइरहेको छ । 

मधेस आन्दोलन र नाकाबन्दीले आयातमा खुम्चिएको वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारबाट आव २०८०÷८१ मा आइपुग्दा कुल  १५ खर्ब ९२ अर्ब आठ करोड रुपैयाँको आयातमध्ये वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ३० प्रतिशत र सुक्खा बन्दरगाहको योगदान १२ दशमलव ७८ रहेको छ । कुल आयातमा भैरहवा भन्सार कार्यालयको योगदान भने १५ दशमलव २३ प्रतिशत रहेको छ ।  

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले संविधान जारी भएसँगै भएको मधेस आन्दोलन र अघोषित नाका बन्दीपछि आयात पुरानै लयमा फर्किए पनि उद्योग र व्यापार व्यवसायमा सुधार नआएको बताए । “वीरगञ्जमा सुविधा सम्पन्न सुक्खा बन्दरगाहा र एकीकृत जाँच चौकीलगायत पूर्वाधारका कारणले यहाँबाट हुने आयात पुरानै अवस्थामा फर्किसकेको छ,” उनले भने, “संविधान जारी भएसँगै भएको आन्दोलनको कारणले विस्थापित भएका उद्योगी, व्यवसायी र बजार भने अझै फर्किन सकेको छैन ।” 

वरिष्ठ उपाध्यक्ष गौतम मधेस आन्दोलनपछि वीरगञ्ज केन्द्रित रहेका उद्योगधन्दा विस्तारै बारा र हेटौँडातर्फ विस्तारै सर्ने क्रम बढेको पनि गुनासो व्यक्त गरे । “वीरगञ्ज भन्सार कार्यालयबाट हुने सवारीसाधनको आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको देखिन्छ,” उनले भने, “राजनीतिक स्थायित्व र उद्योगमैत्री वातावरणले पनि ठूलो अर्थ राख्ने रहेछ ।” 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले कुल आयातमध्ये एक तिहाइभन्दा धेरै आयात वीरगञ्ज भन्सार कार्यालय  हुने बताए ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷७४ सालदेखि नै वीरगञ्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार भएको देखिन्छ । सो आवमा  नौ खर्ब ८४ अर्ब ३० करोड रुपैयाँ  आयात मध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव १२ प्रतिशत रह्यो भने सुक्खा बन्दरगाह कार्यालयको भने ११ दशमलव ७६ प्रतिशत रह्यो । सोही आवमा भैरहवा भन्सारको भने १८ दशमलव ५५ प्रतिशत रह्यो । 

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा पनि नेपालमा १२ खर्ब ४५ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएको देखिन्छ । यसमा वीरगञ्ज भन्सार र सुक्खा बन्दगाहको हिस्सा क्रमशः ३३ दशमलव ८९ र १० दशमलव ४९ प्रतिशत रह्यो । जसमा भैरहवा भन्सारको योगदान भने १७ दशमलव ९९ प्रतिशत थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा रु १४ खर्ब १८ अर्ब ५३ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकबाट भित्रियो । जसमा वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ७३ प्रतिशत, भैरहवा भन्सारको योगदान १६ दशमलव ९२ र सुक्खा बन्दरगाहको योगदान भने १० दशमलव ९२ प्रतिशत रह्यो ।

विसं २०७६ चैतको पहिलो सातादेखि कोभिड– १९ को महामारी नियन्त्रण गर्न भन्दै गरिएको बन्दाबन्दीको कारणले पनि अघिल्लो वर्षको तुलनामा मुलुकभरिको समग्र आयातमा नै सङ्कुचन आयो । सो आवमा रु ११ खर्ब ९६ अर्ब ७९ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हुँदै ३४ दशमलव ३७ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै भने १३ दशमलव ८४ प्रतिशत र भैरहवा हुँदै भने १६ दशमलव ६१ प्रतिशत आयात भएको देखिन्छ । 

कोभिड–१९ को महामारीको कारणले सङ्कुचित आयात आर्थिक वर्ष २०७७/७८ मा भने उल्लेखनीय सुधार हुँदै १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भयो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हँुदै एक तिहाइ अर्थात् ३३ दशमलव २३ प्रतिशत रह्यो । सुक्खा बन्दरगाह हुँदै भने कुल आयातको १२ दशमलव ३० प्रतिशत र भैरहवा भन्सार नाकाबाट कुल आयातको १८ दशमलव २९ प्रतिशत आयात भएको देखिन्छ । 

कोभिड–१९ को असर र प्रभाव कम भएसँगै आर्थिक वर्ष २०७८/७९ मा रु १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको आयात भयो । जसमा वीरगञ्ज भन्सार कार्यालय हुँदै ३६ दशमलव ७८ प्रतिशत अर्थात् रु सात खर्ब छ अर्ब ३८ करोड ७९ लाख ६७ हजार बराबरको आयात भयो । त्यस्तै, सुक्खा बन्दगाह हुँदै कुल आयातको ११ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजारको आयात भयो । त्यस्तै, भैरहवा भन्सार कार्यालयबाट भने कुल आयातको १५ दशमलव ४० प्रतिशत अर्थात् रु दुई खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार बराबरको आयात भएको थियो । 

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार कुल आयात भएको थियो । कुल आयात मध्ये वीरगञ्ज भन्सार हुँदै ३६ दशमलव ८२ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै कुल आयातको १२ दशमलव ५५ प्रतिशत र भैरहवा भन्सारबाट भने कुल आयातको १५ दशमलव १९ प्रतिशत आयात भएको देखिन्छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष कुमार टेमानीले कोभिड–१९ महामारीपछि सरकारले अँगालेको नीतिको कारणले अर्थतन्त्रमा ठूलो खालको समस्या निम्तिएकाले पनि उद्योग र व्यापार क्षेत्रको गुल्जार अझै नफर्किएको बताए । 

वीरगञ्ज वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम पनि कोभिड–१९ महामारी सकिएपछि पनि उद्योगधन्दा मुस्किलले ३० देखि ४० प्रतिशतको हाराहारीमा मात्रै चल्दै आएको गुनासो गर्छन् । 


 

प्रतिक्रिया