सरकारको सय दिन सफल रहेको कानुन मन्त्री चौरसियाको दाबी

पर्सा । कानून न्याय तथा सङ्घीय मामिला मन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी  गरेका छन् । 

उनले भने,“ प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरु बीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेकोे छ ।”

नेपाल प्रेस युनियन पर्साद्वारा बिहीबार वीरगन्जमा दशैं, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने जानकारी दिए । 

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी  संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तह सँग सम्बन्धित कानूनहरु पारित हुने बताए । उनले भने, “ आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रिया सँग सम्बन्धित  बाँकी विधेयक पनि पारित हुन्छन् ।  ” 

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतमा  सो कार्यक्रम सम्पन्न भएको थियो । 
रासस 

प्रतिक्रिया