तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

म्याग्दी । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक २ सय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् ।

दशैं सँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । “असोज २९ देखि यहाँ दैनिक २ सय जना बिरामी तथा पर्यटक स्नान गर्न आएका छन्,” अध्यक्ष खड्काले भने । 

उनका अनुसार बिरामीको चाप बढे पछि बिहीबार देखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा अधिकतम् ४ सय जनाले स्नान गर्न मिल्छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ । 

तातोपानीको मूल बाट बिरेनुनको गन्ध सहित ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रमको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा स्नान गरे पछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा, मर्केको, चर्मरोग देखि प्यारालाइसिस जस्ता रोग निको हुने विश्वास गरिन्छ ।

देशका विभिन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामी समेत पछिल्लो समय यहाँ आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालीन आरतीले बिरामीलाई आर्कषित गरेको छ ।

तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति  तीनसय ५० को टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्ता सम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा  एक सयको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ ।

तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब÷भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । 

कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण सहित व्यवस्थापन गरी प्रचार गरे पछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।
रासस 

प्रतिक्रिया