वीरगञ्ज बाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार बाट चालु आर्थिक वर्षको भदौ मसान्त सम्ममा ७६ दशमलब ८६ प्रतिशतले  मोटरसाइकलकोे आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/ ८१ को भदौ महिना सम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । 

चालु आर्थिक वर्षको भदौं मसान्त सम्मको अवधिमा  वीरगञ्ज नाका बाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । 

चालु आर्थिक वर्षको भदौ मसान्त सम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्त सम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । 

आर्थिक वर्ष  २०८०/८१ को भदौ मसान्त सम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए । 

चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।
रासस

प्रतिक्रिया