बि.पी. राजमार्ग सवारी साधनको चाप, जोखिम मोलेरै यात्रा गर्नु परेको यात्रु र चालकको गुनासो

काठमाडौं । दशैं सकिए सँगै बि.पी. राजमार्ग हुदैं काठमाडौं फर्कनेहरुको लर्को लागेको छ । 

पूर्वी तराईका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौं सँग जोड्ने बि.पी. राजमार्गमा अस्थाई रुपमा नयाँ ट्रयाक खोले सँगै राजमार्गमा यातायातको चाप बढेको छ । 

यस वर्ष भने बाढी र पहिरोका कारण बि.पी. राजमार्गको विभिन्न स्थान अवरुद्ध भएको र नयाँ ट्रयाक खोलेर अस्थाई बाटो बनाइएसँगै जोखिम मोलेरै राजमार्गमा यात्रुहरुले यात्रा गरिरहेका छन् । छोटो दुरीको रुपमा परिचित राजामार्ग अहिले बाटो बिग्रिएकाले धेरै दुःखका साथ यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ ।

नयाँ ट्रयाक खोलिएको सवारी चाप बढे सँगै साना सवारीलाई यात्रा गर्न धेरै कष्ट भएको र स–साना दुर्घटना भइरहेको चालकहरु बताउँछन् ।
   
धुलाम्मे सडक , कतै बाटो साघुँरो, कतै खाल्डाखुल्डी, कतै खोला तरेर पारी पुग्नुपर्ने, कतै पैदल नै हिंड्नुपर्ने, दुःख झेल्दै कष्टकर यात्रा गर्नु परेको उनीहरुले बताएका छन् । असोजको दोस्रो सातामा अबिर वर्षा सँगै रोशी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा ट्रयाक सडक निर्माण सँगै यातायातको चाप बढेको प्रहरीले जनाएको छ ।

दशैं, तिहार जस्ता चाडपर्वको बेलामा उसै पनि बि.पी. राजमार्गमा यातायात चाप हुने गर्दछ । बि.पी. राजमार्ग अन्तर्गत काभ्रेको मम्ती खोला, कालढुंगा, बोक्सीकुना, नार्केपुल आसपास, पिनथली बेसी, डालाबेसी, भ्याकुरे खोला, चार सय बेसी, मंगलटार लगायत खण्डमा सडक बगेको छ । 

यी खण्डमा कालोपत्रे सडकको क्षतविक्षत भएको छ । यी खण्डमा अहिले अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालनमा ल्याइएको छ । कतिपय स्थानमा भने खोला बाटै सवारी साधन चलाउनुपर्ने बाध्यता छ ।
 

प्रतिक्रिया