चोभार आदिनाथमा एक महिने मेला शुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडा स्थित आदिनाथको मेला बिहीबार बिहानै देखि शुरु भएको छ । 

कार्तिक शुक्ल पूर्णिमा सम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्र बाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताए । 

मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छाला सम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिव पार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर भएको श्रेष्ठले बताए । 

मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने गरेको प्रचलन छ । भक्तजनले बिहानै देखि बाजागाजा सहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाडौं बाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थल बाट काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ । 

रासस 

प्रतिक्रिया