बाढीले सुनसरीको हरिनगरमा २४ करोड २७ लाखको क्षति

सुनसरी । हालैको बाढीले हरिनगर गाउँपालिकामा  २४ करोड २७ लाख बराबरको क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ।

हरिनगरमा बाढीले ७ वटा विद्यालय, ६ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा ९ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । १ हजार ६ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ । 

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति  भएको छ । ३ वटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेको उक्त कार्यालयले जनाएको छ ।

बाढीले भत्केका भौतिक संरचनाको मर्मत सम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । 
रासस 

प्रतिक्रिया