इजरायलले पुनः आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको चेतावनी

एजेन्सी । इरानले इजरायलले पुनः आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने चेतावनी दिएको छ ।  

इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस समक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इरानका विदेश मन्त्री अब्बास अरागचीले गुटेर्रेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको लागि सबै प्रयास गरिरहेको जनाउदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन् । 

अरागचीले राष्ट्र सङ्घलाई ‘इजरायली शासनको अपराध र आक्रामकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्न समेत अपील गरेका छन् । पछिल्लो समयमा इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरेका छन् ।

प्रतिक्रिया